१. प्रारम्भ
आधुनिक समाजमा दाम्पत्य जीवन विभिन्न पारिवारिक समस्या, आपसी मनोमालिन्य र कपटपूर्ण व्यवहारका कारणले कष्टकर बन्दै गएको छ । यस्ता समस्याले गर्दा लोग्ने र स्वास्नी कानूनी रुपमा वा आफ्नो परम्परागत परिस्थिति अनुसार सम्बन्ध विच्छेद गर्नु पर्ने अवस्थाहरु सृजना हुनु स्वाभाविक भइरहेको छ । सम्बन्ध विच्छेदले वैवाहिक सम्बन्धलाई सँधैका लागि अन्त गर्छ । हरेक देशका सम्बन्ध विच्छेद सम्बन्धी आ–आफ्नै कानुनहरु हुन्छन् । हरेक समाजका सम्बन्ध विच्छेद सम्बन्धी मान्यताहरु पनि फरक फरक हुन्छन् । बैबाहिक सम्बन्ध सुमधुर रहन नसकेमा सम्बन्ध विच्छेद गर्नुपर्ने आवश्यकता महसुस गरी कानुनी रुपमै सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था हुँदै आएको छ । बर्तमान मुलुकी देवानी संहिता, २०७४ ले पति पत्नी बीचको सम्बन्ध विच्छेद हुन सक्ने व्यवस्था गरेको छ ।
२. सम्बन्ध विच्छेदका आधारहरु (Grounds of Divorce)
दाम्पत्य सम्बन्ध तोड्नको लागि विभिन्न कानूनी प्रक्रिया तथा पूर्वाधार तयार भएको हुनुपर्छ । प्राचीन समयमा उच्च जातिका हिन्दूहरुमा सम्बन्ध विच्छेद एउटा सामाजिक कलंक मानिन्थ्यो त्यसैले आम रुपमा सम्बन्ध विच्छेदको प्रचलन कम थियो । तर पछि भारतमा The Special Marriage Act, 1954 र The Hindu Marriage Act, 1955 ले हिन्दूहरुलाई कानुनी रुपमा सम्बन्ध विच्छेद गर्न अनुमति प्रदान गरेको पाईन्छ ।
नेपालको पारिवारिक कानुन धेरै हदसम्म हिन्दू मान्यताबाट प्रभावित भए तापनि कानुन बमोजिम मात्र सम्बन्ध विच्छेद गर्न सकिने र घर व्यवहारमा भएका सम्बन्ध विच्छेदले मान्यता नपाउने व्यवस्था गरिएको छ । नेपालको वर्तमान पारिवारिक कानुनले सम्बन्ध विच्छेद गर्न निश्चित आधारहरु तोकेको छ ।
२.क. आपसी सहमती
प्रचलित नेपाल कानुनमा पति पत्नीको आपसी सहमतीमा सम्बन्ध विच्छेद हुनसक्ने व्यवस्था गरिएको छ । वर्तमान मुलुकी संहितामा पति पत्नी दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । सम्बन्ध विच्छेदका आधार कारण जे सुकै भएता पनि पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीबीचको सम्बन्ध विच्छेद गर्न सक्नेछन् । पति पत्नीको सम्बन्ध सुमधुर नरहने र त्यसले जीवनभर तनाव तथा झै झगडा हुने अवस्था वा अन्य कुनै कारणले पति पत्नी आपसी सहमतीमा सम्बन्ध विच्छेद गर्न तयार भई कानुन बमोजिमको प्रकृया पूरा गरी अदालतबाट सम्बन्ध विच्छेद गर्न सक्ने प्रचलित कानुनी व्यवस्था आधुनिक समाजको विवाह प्रतिको बदलिंदो धारणाको सम्मान हो । पति पत्नीको सम्बन्ध पुरानो समाजले सोचे जस्तो अटुट सम्बन्ध होइन । आपसी विश्वास, सद्भाव, माया प्रेम, अनुराग, एक अर्का प्रतिको लगाव तथा आकर्षणले जीवन्त रहने सम्बन्धमा अविश्वास, बेमेल, मनमुटाव, राग द्वेष उत्पन्न भएमा त्यस्तो दाम्पत्य सम्बन्ध पति पत्नीले चाहेमा जतिसुकै बेला अन्त गर्न सक्छन् ।
२.ख. पतिले सम्बन्ध विच्छेद गर्ने आधारहरु
वर्तमान देवानी संहिताले पत्नीको दोष भएमा पतिले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको छ । सो कानुनी व्यबस्था अनुसार पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ :
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
यी माथि उल्लेखित मध्ये कुनै एक आधारमा लोग्नेले चाहेमा सम्बन्ध विच्छेद गर्न सक्दछ ।
२.ग. पत्नीले सम्बन्ध विच्छेद गर्ने आधारहरु
वर्तमान देवानी संहिताले नै पतिको दोष भएमा पत्नीले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था पनि गरेको छ । सो कानुनी व्यवस्था अनुसार पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छः
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
यसरी हेर्दा पतिले पत्नीसँग सम्बन्ध बिच्छेद गर्न पाउने आधारहरु भन्दा पत्नीले पतिसँग सम्बन्ध बिच्छेद गर्न पाउने आधारहरुमा दुईवटा आधारहरु बढि छन् । पहिलो, पतिले अर्को विवाह गरेमा पत्नीले पतीसंग सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ । तर पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने कानुनी व्यवस्था छ । यस व्यवस्था अनुसार पतिले यस आधारमा सम्बन्ध विच्छेद गर्न आवश्यक पर्दैन ।
दोस्रो, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न निवेदन गर्न सक्छिन् । पत्नीले पतिलाई जबरजस्ती करणी गर्ने परिकल्पना हाम्रो कानुनले नगरेकोले पतिलाई यस आधारमा पनि सम्बन्ध विच्छेद गर्ने कानुनी सुविधा उपलब्ध छैन । महिलाले सम्बन्ध विच्छेद गर्न पाउने आधारका सम्बन्धमा सर्वोच्च अदालतबाट घरबाट निकाल्नु, कुट्नु, चोरी मुद्दा चलाउनु इत्यादि व्यवहार लोग्नेबाट गरिएकोले स्वास्नीले छाड्न पाउने भनी महमद लिस विरुद्ध जमिलको पारपाचुके मुद्दामा व्याख्या भएको छ ।
३. निष्कर्ष
वैवाहिक सम्बन्ध एक जुनी मात्र होइन सात जुनी सम्मको पवित्र बन्धन ठान्ने हिन्दू मान्यता बोकेको समाजमा कानुनी रुपमा सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था वैवाहिक कारणले उत्पन्न तनाव, त्रास, झमेला, उत्पीडनबाट मुक्त हुने उत्तम मार्ग हो । हाम्रो कानुनले विवाहको नाममा पिल्सी रहनु पर्ने प्राचीन मान्यताबाट खास गरी महिलालाई मुक्ति दिएको छ । हाम्रो समाजमा सम्बन्ध विच्छेदलाई सामाजिक प्रतिष्ठा, आफन्तजनको मान मर्यादासंग जोड्ने गरेका कारणले कति महिलाले जीवनभर कष्ट सहनु परेको र कतिपयले ज्यान समेत गुमाउनु परेको तथ्य सार्वजनिक भई रहेका छन् । त्यसैले सम्बन्ध विच्छेदका बारेमा खुकुलो एवं प्रगतिशील कानुनी व्यवस्था हुनु सुखद कुरा हो ।
यद्यपि हाम्रो कानुनमा केही परस्पर विरोधी व्यवस्थाहरु छन् । यसले केही व्यवहारिक तथा कानुनी जटिलता थपेको छ । जस्तैः पहिलो, कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेका अवस्थामा अर्को विवाह गरेमा त्यस्तो विवाह बदर हुने कानुनी व्यवस्थाले लोग्ने मान्छेको वैवाहिक हैसियत समाप्त हुने देखिन्छ । किनकी एकातिर अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेका अवस्थामा गरेको अर्को विवाह बदर हुने र अर्कोतिर पतिले अर्को विवाह गरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्थाले लोग्ने मान्छेको वैवाहिक हैसियत समाप्त हुने देखिन्छ ।
दोस्रो, यस्ता परस्पर विरोधी कानुनी व्यवस्थाले घुमाई फिराई दोस्रो विवाहलाई नै मान्यता दिन खोजेको देखिन्छ । कुनै विवाहित पुरुषले अर्को विवाह ग¥यो भने दोस्रो विवाह बदर हुने भयो । यस्तो विवाह गर्नेको पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने संभावना रहने नै भयो । यदी पत्नीले सम्बन्ध विच्छेद गरिन भने लोग्ने मान्छेको हैसियत एकल हुन आउने भयो । त्यस्तो एकल व्यक्तिले अर्को विवाह गर्न पाउने नै भयो । यसरी विवाह गर्न पाउने भए पछि जसलाई विवाह गरे बापत सम्बन्ध विच्छेद भएको थियो उनै महिलासंग विवाह गर्ने कानुनी अड्चन भएन । अब ती महिला पुरुषवीच पुनः वैधानिक विवाह हुन सक्ने भयो । यसले प्रकारान्तरमा पुरुषले दोस्रो विवाह गर्न सक्ने कानुनी आधार सृजना हुने देखिन्छ ।
तेस्रो, दोस्रो विवाह सम्बन्धी परस्पर विरोधी कानुनी व्यवस्थाले महिलाको हकमा झन बढी जटिला सृजना गरेको देखिन्छ । एकातिर पत्नीले कानुन बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ भन्ने व्यवस्था छ भने अर्कोतिर कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित महिलाले वैवाहिक सम्बन्ध कायम रहेका अवस्थामा गरेको अर्को विवाह बदर हुने व्यवस्था छ । पहिलो कानुनी व्यवस्थाले पहिलो विवाह स्वतः समाप्त भएको मानिन्छ । पछिल्लो कानुनी व्यवस्थाले विवाहित महिलालाई निरपेक्ष रुपमा विबाहित वा अविवाहित पुरुषसंग अर्को विवाह गर्न निषेध गरेको अर्थ लाग्छ । के कुनै विवाहित महिलाले विवाहित वा अविवाहित पुरुषसंग विवाह गरेको दुबै अवस्थामा वैवाहिक सम्बन्ध समाप्त भएको मान्ने हो ? यदी यसो हो भने विवाहित महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा दोस्रो विवाह गरेमा पहिलो विवाह स्वतः समाप्त हुने र दोस्रो विवाहले पनि मान्यता नपाउने देखिन्छ । यस्तो अवस्थाले महिलालाई वैवाहिक हैसियत विहिन बनाउने देखिन्छ ।
दोस्रो विवाह गर्ने महिलाले विवाहित पुरुषसंग गरेको विवाह समाप्त हुनु स्वाभाविक मान्न सकिएला तर दोस्रो विवाह गर्ने महिलाले अविवाहित पुरुषसंग विवाह गरेकी रहिछन् र त्यस्तो विवाह पनि बदर भएको मान्ने हो भने महिलाको वैवाहिक हैसियत समाप्त हुने देखिन्छ । यस्तो कानुनी व्यवस्थालाई सच्याउन कि त कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित महिलाले वैवाहिक सम्बन्ध कायम रहेका अवस्थामा अर्को विवाहित पुरुषसंग विवाह गरेमा पहिलो विवाह स्वतः समाप्त हुने र दोस्रो विवाह पनि बदर हुनेछ भनी संशोधन गर्नु जरुरी छ कि त न्यायपालिकाले विवाहित पुरुषसंग विवाह गर्ने महिलाको हकमा मात्र पहिलो विवाह स्वतः समाप्त हुने र दोस्रो विवाह पनि बदर हुने तर अविवाहित पुरुषसंग दोस्रो विवाह गर्ने महिलाको हकमा चाँही पहिलो विवाह स्वतः समाप्त हुने तर दोस्रो विवाह कायम रहने भनी व्याख्या गर्नु आवश्यक छ ।
यस्तो अवस्थामा अर्को विवाहित पुरुषसंग दोेस्रो विवाह गर्ने महिलाको वैवाहिक हैसियत के हुने भन्ने प्रश्न बाँकी नै रहने भयो । प्रचलित कानुनी व्यवस्था अनुसार विवाहित पुरुषसंग दोस्रो विवाह गर्ने महिला वैवाहिक हैसियत विहिन नै हुन्छिन् । त्यस्ती महिलासंग विवाहका दुईवटा विकल्प छन्ः पहिलो, कुनै अविवाहित वा एकल पुरुषसंग विवाह गर्ने वा दोस्रो, जुन पुरुषसंग आफ्नो दोस्रो विवाह भएको थियो सो पुरुषकी पहिलो पत्नीले सम्बन्ध विच्छेद गरेको खण्डमा सो व्यक्तिसंग पुनः अर्को विवाह गर्ने । त्यस्तो पुनः भएको विवाहलाई कानुनी रुपमा दर्ता गर्नु अनिवार्य हुन्छ । त्यसै गरी दोस्रो विवाह गरेका कारणले वैवाहिक हैसियत विहिन भएको पुरुषसंग पनि विवाहका दुईवटा विकल्प रहन्छन्ः पहिलो, कुनै अविवाहित वा एकल महिलासंग अर्को विवाह गर्ने वा दोस्रो, जुन महिलासंग दोस्रो विवाह गरेका कारणलै पहिलो पत्नीले सम्बन्ध विच्छेद गरे पछि वैवाहिक हैसियत समाप्त भएको थियो तिनै महिलासंग पुनः विवाह गर्ने । यस्तो अवस्थामा पनि विवाहलाई विधिवत् दर्ता गर्नु अनिवार्य हुन्छ । अन्यथा विवाहको वैधानिकतामा जटिलता बढ्नेछ र प्रकारान्तरमा महिलाले नै दुःख पाउने अवस्था सृजना हुन्छ ।
सन्दर्भ सामर्गी
– मुलुकी देवानी संहिता, २०७४
– लवदेव भट्ट, निर्णय सार संग्रह, द्धितीय संस्करण,
विवेककुमार पौडेल (सहप्राध्यापक, नेपाल ल क्याम्पस, त्रि.वि.)
(अक्षलोक, पूर्णाङ्क ६१ बाट शैक्षिक प्रयोजनका लागि साभार)
© 2018 lexnepal.com. All Rights Reserved || Developed by: Namuna Computer