LEGAL NEWS WEBSITE FROM NEPAL

एल.एल.बि. भर्ना सम्बन्धको बेवास्ताले त्रिवि उपकुलपति खनियाँ विरुद्ध अवहेलना मुद्या दर्ता गर्ने तयारी

२०७६ जेठ २९ गते ९:१६ Lexnepal


त्रि.वि. उपकुलपति तीर्थ खनियाँ विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्या दर्ता गर्न तयारी थालिएको छ । एल.एल.बि. भर्नामा अदालतले एक समिति गठन गरी ल क्याम्पसको क्षमता अनुसार विद्यार्थीको भर्ना लिनु भन्ने सम्बन्धमा गत जेठ ३ गते गरेको आदेशको प्रति जेठ ७ गते ल क्याम्पसलाई प्राप्त भएको मितिले ३० दिन भित्रमा निक्र्यौल निकालेर त्रिवि परिषद्मा बुझाइ एक महिनाभित्रमा प्रवेश परीक्षा सम्पन्न गरी भर्ना लिनुपर्नेमा बुझाएको एक हप्ता पुग्न लाग्दा पनि त्रिवि परिषद्ले बेवास्ता गरको छ ।

अदालतले एक महिनाको अवधिमा फारम खुलाएर प्रवेश परीक्षा लिइसक्नुपर्नेमा जेठ ७ गतेबाट हिसाब गर्दा आज २२ दिन भइसक्दा पनि कुनै सूचना नआउँदा विद्यार्थीमा अन्यौलता झन् बढ्दै गएको छ । अब केवल ८ दिन बाँहि रहँदा पनि त्रिवि परिषद्ले न कुनै सूचना निकालेको छ न त प्रवेश परीक्षाका सम्बन्धमा केही बोलेको छ ।

त्रिवि परिषद्ले यसरी विद्यार्थीमाझ अन्यौलता पैदा गर्दा यो वर्षको एल.एल.बि.शैक्षिक शत्र नै खारेज हुने सम्भावना झन् बढ्दै गएको छ ।

यसै सन्दर्भमा त्रिवि परिषद्ले गरेको अदालतको आदेशको अवहेलना सम्बन्धी मुद्या हाल्ने तयारी विद्यार्थीले गरी रहेका छन् । एल.एल.बि. अध्ययनलाई राजनीतिको भाँडो बनाइँदा यसमा अन्यौलता आएपछि अब त्रिवि परिषद्लाई थप सोच्नुपर्ने कारण नभएको र अदालतको आदेश मान्नुको बिकल्प नै नरहेको अवस्थामा त्रिवि परिषद्ले गरेको बेवास्ता अदालतको अवहेलना अन्तर्गत पर्ने आएको र सोका विरुद्ध त्रिवि उपकुलपति खनियाँ, कानुन संकाय डीन कार्यालय, त्रिवि शिक्षा परिषद् लगाएत विरुद्ध अवहेलना मुद्या दर्ता गर्ने तयारी भइ रहेको ल क्याम्पसका विद्यार्थी अगुवा सुलभ खरेलले जानकारी दिएका छन् । यदि यो अवहेलना मुद्दामा आदेश भएको खण्डमा जो जति अहिले प्रमुख ओहदामा छन्, उनीहरु पदबाटै सधैंको लागि मुक्त भइ फौजदारी मुद्दा समेत लाग्न सक्ने सम्भावना रहन्छ ।

यसै सन्दर्भमा एल.एल.बि.भर्ना अदालतको आदेश विपरित रहेर खुला हुनुपर्छ भनी केही विद्यार्थीले त्रिवि कानुन संकायको डिन कार्यालयमा विगत एक महिना देखिे ताल्चा लगाउँदै आएपछि कार्यालयको काम कारवाहीमा अवरोध पैदा भएको र यसले भर्नाको फर्म खोल्न समस्या आइपरेको कुरालाई सम्बन्धित पक्षलाई जानकारीका लागि नेपाल ल क्याम्पस शिक्षक संघले विज्ञप्ती पनि निकालेको छ । स्थानीय प्रशासन ऐनका अनुसार जथाभावी शैक्षिक संस्थामा ताल्चा लगाएको अवस्थामा फौजदारी अभियोगमा कार्बाही गरिने प्रावधान समेत रहेकोले ल क्याम्पसमा नियोजित ढंगबाट जथाभावी ताल्चा लगाउनेका विरुद्ध समेत मुद्दा दाएर गर्ने तायारी विद्यार्थीबाट भै रहेको छ ।

अब पनि त्रिवि परिषद्ले समयमै एल.एल.बि. भर्नामा सूचना ननिकाल्ने हो भने यस वर्षको एल.एल.बि.शैक्षिक शत्र खारेज हुने सम्भावना बढेको छ ।