LEGAL NEWS WEBSITE FROM NEPAL

नेपाल बार चुनाव–२०७५ मनोनयन दर्ता सम्पन्न

२०७५ फागुन ६ गते १२:४९ Lexnepal

पेशागत कानुन व्यवसायीको साझा संगठन नेपाल बार एशोसिएशनको २०७५ साल चैत्र १६ गते हुने चुनावका लागि फागुन ६ गते मनोनयन दर्ता सम्पन्न गरिएको छ । दुई वर्षको अवधिको कार्यकालका लागि हुने नेपाल बारको चुनावको नयाँ कार्यकालका लागि मनोनयन दर्ता गरिएको हो । विगतमा भए जसो नै यस वर्ष पनि मुख्य रुपमा दुइटा खेमाबीच पर्तिस्पर्धा हुने देखिन्छ ।

नेकपा निकट कानुन व्यवसायीहरुको संगठन नेपाल कानुन व्यवसायी संगठन र काँग्रेस निकट कानुन व्यवसायीहरुको संगठन लोकतान्त्रिक कानुन व्यवसायी संगठनका बीचमा नै यस वर्ष चुनावी प्रतिष्पर्धा हुने भएको छ । केही व्यक्तिले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएपनि नेतृत्व लिनलाई भन्दा आफ्नो असन्तुष्टि जनाउने माध्यम मात्र बन्ने गरेको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोयनको समय तोकिएको भए तापनि नेपाल बार एशोसिएशनमा दिनभर नै घुँइचो देखिएको थियो । कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु र निर्वाचन प्रनिनिधिहरुको बाक्लो उपस्थिति रह्यो ।

नेकपा निकट नेपाल कानुन व्यवसायी संगठनका तर्फबाट चन्द्रेश्वर श्रेष्ठले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको थियो भने उनकै प्यानलमा महासचिवमा सुरेन्द्र थापा लगाएतले उम्मेद्वारी दर्ता गराएका थिए ।

त्यसैगरी लोकतान्त्रिक कानुन व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा सुनिल पोख्रेलले नाम दर्ता गराउनु भएको थियो भने उनकै प्यानलमा महासचिवमा लिलामणी पौडेल लगाएतले दर्ता गराउनु भएको थियो ।

यसपटकको नेपाल बार एशोसिएशनको चुनावमा दुइटै खेमामा मतभेद देखिएका छन् । लोकतान्त्रिकका तर्फबाट सुनिल पोख्रेललाई आफ्नै पार्टी अन्तर्गतको अर्को पक्षलाई मिलाएर लैजानुपर्नेछ भने नेपाल कानुन व्यवसायीमा पनि नवोदित कानुन व्यवसायीका लागि नयाँ नेतृत्व आएकाले पुरानलाई सन्तुष्ट पारी लैजानुछ । बेलाबेलामा विवादमा मुछिने नेपाल बार आजका दिनमा दुइटै अध्यक्षका दाबेदारले केही परिवर्तन ल्याउने बताएपनि स्पष्ट खाका अँझै कसैको बनेको छैन ।

देशको न्यायालयमा संलग्न व्यक्तिहरुको संलग्नता बारको चुनावमा रहने भएकाले कानुन व्यवसायीहरुको चुनाव अँझ बढीका लागि लोकप्रिय बन्ने गरेको छ । करिब १२००० मतदाता रहने नेपाल बार एशोसिएशनको चुनावमा प्रनिनिधिहरुले आफ्नो प्रभाव बढाउन अबको एक महिनाका अवधिमा देशभरि आफ्ना कायक्रम गर्दै चुनावको तयारी गर्ने भएका छन् ।

मनोनयन दर्ताका केही झलकहरु

लोकतान्त्रिक खेमाका प्रतिनिधिहरु

नेकपा खेमाका प्रतिनिधिहरु