LEGAL NEWS WEBSITE FROM NEPAL

फैसला विश्लेषण विशुद्ध प्राज्ञहरुको विषय हो : डा. राजेन्द्र कुमार आचार्य

२०७५ मंसिर २५ गते १७:३१ Lexnepal

डuा. राजेन्द्र कुमार आचार्य कञ्चनपूर जिल्लाको जिल्ला न्यायाधीश हुनुहुन्छ । उहाँको न्याय सम्पादनको यात्रा २०७० सालदेखि न्यायधीशका रुपमा सुरु भइ बाजुरा, धनुषा, तनहुँ हुँदै हाल कञ्चनपूर जिल्लामा कार्यरत हुनुहुन्छ । उहाँले दुष्कृति कानुनमा भारतको इलाहबादबाट विद्यावारिधि गर्नु भएको हो । २०४४ सालदेखी २०५२ सालसम्म मुद्दामा वारेस, लेखन्दास, अभिवक्ता तथा अधिवक्ताको हैसियतबाट रूपन्देहीको भैरहवामा आधार बनाई वकालत आरम्भ गर्नु भएको थियो डा. आचार्यले । उहाँ २०५२ पौषदेखि सरकारी वकिलको हैसियतले विभिन्न जिल्ला तथा पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगंज, बुटवल, जनकपुरमा २०६४ सालसम्म कार्यरत रहनु भएको हो । २०६४ सालदेखी न्याय समुहमा उपसचिवको हैसियतले २०७० सालसम्म कार्यरत डा. आचार्य सर्वोच्च अदालतमा इजलास अधिकृत, निर्देशक फैसला कार्यान्वयन निर्देशनालय, रजिष्ट्रार पुनरावेदन अदालत तुलसिपुरमा कार्यरत रहनु भएको हो । उहाँका नागरिकता विधिशास्त्र, अपराध अनुसन्धानको सामान्य जानकारी तथा दुष्कृति कानून लगाएत पुस्तक प्रकाशित छन् । यसरी न्याय सम्पादनको क्षेत्रमा लामो समयको अनुभव र ज्ञान हासिल गर्नु भएका माननीय न्यायाधीश डा. राजेन्द्र आचार्यसँग लेक्स नेपालका यज्ञ राज पाण्डेले गर्नुभएको सम्वाद यहाँ प्रस्तुत गरिएको छ ।

श्रीमानले न्यायाधीशका रुपमा ५ वर्ष बिताउँदै गर्दा के कस्ता अनुभूति रहे न्याय सम्पादनमा ?
मैले ५ वर्षको अवधिमा थुप्रै अनुभुतिहरु आभाष गर्ने मौका पाएँ । सुरुवाती चरणमा आफूमा नै कौतुहलता थियो । यो क्षेत्रमा नयाँ नभए तापनि न्याय सम्पादनमो भूमिका भने निभाएको थिएन । मुद्यामा फैसला दिनु त छँदै छ तर यसबीचमा सजाय पाएका कैदीबन्दी देखि कार्यान्वयन गर्ने प्रहरी समेतको सामिप्यतामा रहेर धेरैका भावना समेत अनुभुत गरेको छु ।

कुन शिलशिलामा कैदीबन्दीसँगको सामिप्यता बढेको थियो र ?
बाजुरा जिल्लामा छँदा त्यहाँ हुने विभिन्न विषयका विवादबारे जान्न र जेलजीवन बिताइ रहेकाहरुको अनुभव सुनी उनीहरुको सुधारोन्मूख मनस्थिति बुझ्न म कारागार समेत पुगेको थिएँ । यो चुनौतिको कार्य थियो । किनकी जसलाई मैले नै सजाय सुनाएको थियो स्वयम उनीहरुसँगै साक्षात्कार गर्न म जाँदै थिएँ । यस कारणकी उनीहरुका गुनासा भए सुन्ने र कसैलाई अन्याय पो परेछ की थाहा पाउने ताकी बिना अपराध कोही जेल जान नपरोस् र कारागारमा रहेकाहरुमा पनि सकारात्मक जीवन बाँच्ने उर्जा थपियोस् । नेपालमा कोइपनि न्यायाधीश यसरी कारागार र प्रहरी नीरिक्षणमा गएको थिएन । र यो एउटा अग्रगामी कदम थियो जसलाई सबैले सराहनीय ठानेका थिए । यसले मलाई कैदीको मनसाय बुझ्न मद्यत ग¥यो भने न्यायालय र पक्षबीच विश्वसनियता बढ्न समेत सहयोगी बन्यो मेरो यो कार्य ।

जनमानसमा न्यायालयप्रतिको कस्तो दृष्टिकोण पाउनु भएको छ ?
न्यायालयप्रति जनमानसले तबमात्र दृष्टिकोण निर्माण गर्ने जब उसले न्यायालयलाई बुझ्न पाएको हुन्छ । तर यस्तो कानुनी जनचेतनाको अभावमा न्यायालय बारे सबैले जानी सकेका छैनन् । एक पटक बाजुरा जिल्ला अदालतमै छँदा कानुनी जनचेतनामूलक रेडियो कार्यक्रम चलाउन सुझाव दिएँ र चल्यो पनि तर यसले निरन्तरता दिन सकेन । मिडियाले पनि यसबारे ध्यान नपु¥याएकाले पनि जनमानसमा न्यायालयबारे जानकारी पुग्न नसक्दा आममानिसले न्यायालयलाई बुझ्न सकेका छैनन् । जे जस्तो बुझिएको छ त्यो पुर्णतया केही भ्रम र केही मात्र सत्य छ यसबारे पर्याप्त छलफल र अन्तरक्रिया हुन सके प्रभावकारी ढँगबाट न्यायालय बुझ्न सकिन्छ ।

न्याय सम्पादनको शिलशिलामा वकिलको अवस्था कस्तो पाउनु भएको छ ?
पढ्ने कानुन व्यवसायीहरुको निकै कमी छ हाम्रोमा । मैले जति वकिलको मुद्या सुनेको छु त्यत्ति पढेर तयारी गरेका वकिलहरु भेटेको छैन । पढ्ने वकिल हुँदै नभएका पनि होइनन् तर न्युन मात्रामा भेटिन्छन् । वकिल अध्ययनशील भए हामीले पनि फैसलाको दौरानमा थुप्रै तयारी गर्नुपर्ने हुन्छ । तर वलिकको तयारी देख्दा हामीले हाम्रै ज्ञानले प्रशस्त पुग्ने अवस्था देखिन्छ ।

तपाईँले दिएका फैसला पनि त सबै मुद्यामा सही छन् भन्ने हुन्छन् र ?
यसको निर्णय विश्लेषकले गर्ने काममा हो । हामीले संविधान, ऐन, कानुन र हाम्रो बुद्धि विवेकको प्रयोगमा न्याय निरुपण गर्ने हो । गलत भयो की सही भएन कि यो त कानुनको विश्लेषकले भन्ने विषय हो । भूमण्डलीकरण भइ रहेको अवस्थामा अन्तराष्ट्रिय जगत्मा के भइ रहेको छ त्यो कुरा पनि अध्ययन अनुसन्धान गरेर हाम्रा फैसला माथि टिप्पणी हुन सके हामीले पनि हाम्रो मुल्याँकनको राम्रो अवसर पाउँछौँ ।

त्यसो भए के वकिलले तपाईँहरुका फैसलाको विश्लेषण गर्ने हो ?
कुनै वकिलले कुनै न्यायाधीशको विश्लेषण गर्न खोज्छ भने त्यो पूर्वाग्रही हुन जान्छ । उसले निष्पक्ष भएर विश्लेषण गर्ने सम्भावना अत्यन्त कम हुन्छ । फैसलाको विश्लेषण त विशुद्ध प्राज्ञहरुको विषय हो । जुन ज्ञान र अनुभवमा निर्भर रहोस् । त्यसो भए मात्र सही मुल्यांकन हुन्छ । अन्यथा यो कानुन व्यवसायीको पाटो होइन ।

जिल्ला तहका न्यायधीशले पनि विधिशास्त्रिय सिद्धान्त प्रतिपादन गर्न सक्छन् की सक्दैनन् ?
आफूसँग क्षमता र ज्ञान विकासका आधारमा जुनसुहै तहका न्यायाधीशले पनि विधिशास्त्रिय सिद्धान्त प्रतिपादन गर्न सक्छन् । तर अरु मुद्याको व्याख्याको शिलशिलामा कसरी प्रयोग गरिन्छ भन्ने मुख्य कुरा हो । यदि न्यायाधीश सक्षम छ भने जिल्ला अदालतकै तहमा किन नहोस् एउटा राम्रो सिद्धान्त प्रतिपादन गर्न सकिन्छ । तर यत्ति होकी पछि पुनरावेदन हुँदै गर्दा वा सर्वोच्चमा दोहोरिएर हेरिँदै गर्दा तल्लो तहका न्यायाधीशले प्रतिपादन गरेका सिद्धान्तलाई माथिल्लो तहका न्यायाधीशले कसरी उल्लेख गर्छन् भन्ने हो । यदि अमेरिका जस्तो विकसित मुलुकमा हेर्ने हो भने जिल्ला अदालतबाट प्रतिपादन गरेको सिद्धान्त फलानो मुद्यामा फलानाले प्रतिपादनको गरेको सिद्धान्त भनी उल्लेख गरेरै म त्यसमा सहमत छु भनेर माथिल्लो अदालतका न्यायधीशले भन्ने गरेको पाइन्छ । तर नेपालमा तल्लो अदालतको न्यायाधीशको कुरा आफू बोल्नु छ भने यसको प्रतिपादकको बारेमा उल्लेख नै नगरी निर्णय दिने गर्छन् । यसले तल्लो तहका न्यायाधीशलाई काम गर्न दुरुत्साहन गर्न सक्छ । त्यसैले हरेकको कामको अपनत्व गराउने वातावरण नबनेको हो, जिल्ला न्यायाधीशको मुल्यांकन नभएको हो । थुप्रै उदाहरण भेटिन्छन् जहाँ जिल्ला न्यायाधीशबाटै पनि उल्लेख्य सिद्धान्त प्रतिपादन भएको होस् ।

न्यायालयमा आजको प्रमुख समस्या के होला ?
एकले अर्काको अस्तित्व स्विकार्न नसक्नु र एकले अर्काको कामलाई जस दिन नसक्नु आजको न्यायालयमा मूल समस्या हो । यसबाहेक निरन्तर छलफल, अध्ययन र सीप वृद्धिको अभाव अर्को महत्वपूर्ण समस्या हो ।

तपाइँको पुस्तका ‘दुष्कृति कानुन’ले यो वर्ष २०७४को उत्कृष्ट पुस्तकको सम्मान पाउँदा कस्तो अनुभुति गर्नु भएको छ ?
यो पुस्तक मेरो विधावारिधिको दौरानमा तयार पारिएको शोधपत्रमा आधारित छ । पुरस्कारले थप उर्जा प्रदान गरेको छ ।