LEGAL NEWS WEBSITE FROM NEPAL

समृद्धि अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा प्राथमिकता

२०७५ मंसिर २५ गते १४:४१ Lexnepal

– प्रकाश सिलवाल 

काठमाडौँ, २५ मङ्सिर : मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सघाउन अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयले प्राथमिकता दिएको छ । 

नेपालको मौलिक शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व, नयाँ संविधानको कार्यान्वयनसँगैै समृद्धिको आकाङ्क्षा पूर्ति गरी नयाँ मानकका आधारमा विश्व मानचित्रमा देशलाई चिनाउन मन्त्रालयले उक्त पहल गरेको हो । 

छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धका साथै मित्रराष्ट्रसँग पनि व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्दै श्रमिक गन्तव्यका रुपमा रहेका मुलुकसँग आपसी हित र पारस्परिक सद्भावका आधारमा सम्बन्धलाई मजबुत बनाउन पनि मन्त्रालयले ‘कूटनीतिक व्यस्तता’ बढाएकोे छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन छिमेकी भारत र चीनका साथै विकास साझेदारसँगको सम्बन्ध अझ सुदृढ गर्दै नयाँ गति दिन यसबीचमा भएका प्रयास उपलब्धिमूलक रहेको बताउनुभयो । 

“वैदेशिक सहायता, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार प्रवद्र्धन र पर्यटन प्रबद्र्धनका माध्यमबाट नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्नु हाम्रो अभीष्ट हो ।” मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले आज सिंहदरबारमा भन्नुभयो, “विश्व मानचित्रमा नेपाल एक गरीब र अल्पविकसित मुलुकको सङ्कुचित मानसिकतामा रहिरहनुपर्ने आवश्यकता छैन । मौलिक शान्ति प्रक्रिया र राजनीतिक रुपान्तरणको जगमा समावेशी र गर्व गर्नलायक समृद्ध मुलुकको मानचित्रसहित देशको छविलाई उजिल्याइनेछ । प्रकृतिले दिएका सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीको देश भनेर मात्र नभई मानवीय नयाँ प्रयोगका माध्यमबाट नेपाललाई चिनाइनेछ ।” 

संविधानले निर्दिष्ट गरेका संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त, पञ्चशीलका सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मान्यताहरु नै परराष्ट्र नीतिका प्रमुख आधार बनाएको उल्लेख गर्दै उहाँले सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नलिने परराष्ट्रनीतिको ध्येयलाई पालना गरेर न्यायपूर्ण विश्व समाज निर्माणका लागि बहुपक्षीयता र सहकार्यको भूमिकालाई स्थापित गर्न क्षेत्रीयलगायत अन्तर्राष्ट्रिय मञ्चमार्फत पहल गरिरहेको जानकारी दिनुभयो । 

आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता, न्यायपूर्ण र आपसी हितमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने उहाँको भनाइ छ । उहाँले भारत र चीनसँगका पछिल्ला उच्चस्तरीय भ्रमण र रेलमार्ग विस्तालगायका सम्झौताले ती मुलुकका विकासबाट नेपालले लाभ लिन सक्ने वातावरण बनेको जनाउनुभयो । 

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह(इपिजी) को प्रतिवेदन दुवै देशका कार्यकारी प्रमुखले चाँडै ग्रहण गरेर कार्यान्वयनमा आएपछि आपसी सम्बन्धको नयाँ धरातल सिर्जना हुने उहाँले स्पष्ट गर्नुभयो । 

‘एशिया सम्मेलन नेपाल चिनाउने अवसर’ 

मन्त्री ज्ञवालीले नेपालको मौलिक र सफल शान्ति प्रक्रियाबारे अध्ययन गर्न पछिल्लो समयमा अफगानिस्तान, मान्मा र दक्षिण सुडानबाट उच्चस्तरीय प्रतिनिधि नेपालमा आएको जनाउँदै हालै भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन २०१८’ पनि यहाँको शान्ति प्रक्रियाबारे विश्व समुदायलाई जानकारी गराउने अवसर भएको बताउनुभयो । 

सो सम्मेलनबारे उठेका विवादबारे सोधिएको प्रश्नमा उहाँले अन्य अन्तर्राष्ट्रिय कार्यक्रम झैँ सो कार्यक्रम आयोजना गर्न अनुमति दिएको उल्लेख गर्नुभयो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको मन्तव्यलाई अध्ययन नगरी कतिपय राष्ट्रिय सञ्चारमाध्यमले क्रिश्चियन धर्म प्रचारको सन्दर्भ मात्रै जोडेकामा ज्ञवालीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “सम्मेलनमा भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा आउनुभयो । उहाँ बिहान पशुपति दर्शन गरेर दिउँसो सम्मेलनमा भाग लिनुभयो । के यो क्रिश्चियन धर्मको प्रचार हो ?” 

सम्मेलनको काठमाडौँ घोषणापत्रको बुँदा नं ४ मा नेपालको शान्ति प्रक्रिया सिक्न लायक भनी उल्लेख हुनु, सहभागी मुलुकका विशिष्ट अतिथिहरु पर्यटकीय क्षेत्रहरु ठमेल, चन्दागिरिजस्ता स्थानमा पुगेर आनन्दित हुनुले २० लाख पर्यटन भित्र्याउन घोषित ‘पर्यटन वर्ष २०२०’ का लागि सहयोगी हुने मन्त्री ज्ञवालीको तर्क छ । 

उहाँले सम्मेलन आयोजकको आग्रहमा नेपाल सरकारले स्वीकृति दिई सुरक्षा प्रबन्ध गरेको र यसमा कुनै मर्यादाको सीमा नाघिएको भए आगामी दिनमा ध्यान दिइने उल्लेख गर्दै भन्नुभयो, “तर तथ्य र वास्तविकतालाई नहेरी सरकारले कुनै ‘पापाचार’ गरे झैँ प्रचार हुनु दुःखद हो ।” 

औपचारिक निमन्त्रणा पोल्याण्ड भ्रमण 

गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको पोल्याण्ड भ्रमण औपचारिक निमन्त्रणाकै आधारमा भएको र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको नेतृत्व हुनु सकारात्मक भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । 

राजदूत शेर्पाबारे छानबिन जारी 

अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाको मानव बेचबिखनसँग जोडिएको विषयमा मन्त्रालयले टोली बनाएर छानबिन गरिरहेकाले चाँडै निर्णय आउने उहाँले जानकारी दिनुभयो । 

पाँच लाख ‘एमआरपी’ वितरण 

‘रिपोर्ट अन नेपाल्स फरेन अफियर्स’ नामक सो प्रतिवेदनमा सन् २०१७–२०१८ मा भएका कूटनीतिक गतिविधि, उपलब्धि, राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्बन्धका आयाम र सेवाबारे अभिलेखीकरण गरिएको छ । मन्त्रालयका सहसचिव एवं प्रकाशनका संयोजक घनश्याम भण्डारीका अनुसार छिमेकी, विकास साझेदार, सार्कलगायत क्षेत्रीय संयन्त्र, आर्थिक कूटनीति, नेपाली डायोस्परा र सेवाजस्ता खण्डहरुमा प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवधिमा पाँच लाख ३१ हजार छ सय २२ ‘मेशिन रिडेबल पासवर्ड’ वितरण भएको जनाइएको छ ।