LEGAL NEWS WEBSITE FROM NEPAL

न्यायविकासिनी : विश्वको पहिलो कानुन

२०७५ मंसिर २३ गते १३:५७ Lexnepal

न्यायविकासिनी एक पूर्ण कानुन हो । कानुनका सम्पूर्ण विशेषताहरु यसमा पाइन्छन् । यो कानुनलाई नेपालका सार्वभौमसम्पन्न राजा जयस्थिति मल्लले जारी गरेका हुन् । तत्कालिन् समयमा कार्यपालिका र न्यायपालिकाको कार्य एउटै अङ्गले गदर्थे । मन्त्रीहरु नै प्रधानन्यायाधीश र न्यायाधीशको कायै गर्दथे । यो कानुन तत्कालिन् मन्त्री जयत बर्मालाई न्यायिक प्रशासनलाई सहज ढङ्गबाट चलाउन बनाइएको थियो ।

यो कानुन नेपालमा कार्यान्वयन भएको थियो भन्ने बारे प्रशस्त आधार र प्रमाणहरु पाइन्छन् । जारी भइसकेको २०० वर्षपछि पनि यसको अनुकरण गरिएको पाइन्छ । त्यसकारण कुनै शंका छैनकी यसका देवानी दायित्व र कसुरका प्रावधान कार्यान्वयन भएनन् । किनकी यो केवल मन्त्रीको अध्ययनका लागि मात्र नभएर जनतामा कार्यान्वयनका लागि निर्मित कानुन थियो । यो कानुनको नेवारीमा टिप्पणी पनि गरिएको पाइन्छ जुन संस्कृत भाषाको नारदस्मृति ग्रन्थमा आधारित छ ।

प्राचिन स्मृतिहरु मध्येमा मनुस्मृतिलाई समेत आधार बनाइ यो कानुन तयार पारिएको हो । तसर्थ यो कानुन समकालिन युगको प्रयोगात्मक स्वरुप थियो भन्न सकिन्छ । यो कानुनले कुनै स्मृति माथिको टिप्पणी गरेको थिएन वा कुनै स्मृतिलाई जस्ताको त्यस्तै साभार गरी निर्माण भएको थिएन । त्यसैले पनि यो बढी कानुनी र कार्यान्वयनउन्मूख रहेको प्रमाणित हुन आउँछ ।

न्यायविकासिनी नेपाल सम्वत् अनुसार ५०० साल, विक्रम सम्वत् अनुसार १४३६ र इस्वी सम्वत् अनुसार १३८० मा जारी भएको थियो । जुन विश्वकै पहिलो कानुन थियो । अध्ययनले देखाए अनुसार विश्वमा अन्य कुनै कानुन यो समयभन्दा पहिले कार्यान्वयनमा रहेको कुनै जानकारी छैन । न्यायविकासिनी पहिलो लिखित कानुन हो जुन नेपोलियन संहिता (Nepoleon Code/French Code) भन्दा करिब ५०० वर्ष अगाडि नै जारी भइ सकेको थियो ।

विश्वमा अहिले पश्चमाहरुद्वारा निर्मित कानुनलाई पहिलो कानुनका रुपमा पढ्दै पढाइँदै आइएको छ । यस अवस्थामा न्यायविकासिनी नेपालको मात्र नभई विश्वकै पहिलो कानुन हो भनेर प्रमाणित गर्नु, अरुमाझ चिनाउनु नेपालीहरुको प्रमुख दायित्व हो ।