LEGAL NEWS WEBSITE FROM NEPAL

क्षमता र इमान्दारिता पुजिने त्यो समय : मोतिकाजी स्थापित

२०७५ मंसिर १३ गते १९:२८ Lexnepal

कानुनव्यवसायीको रुपमा २०१८ सालमा सर्वोच्च अदालतमा प्रवेश गर्दा कानुनव्यवसायीलाई बस्नसम्मका लागि पनि कुनै व्यवस्था थिएन । कानुनव्यवासायीहरु अदालतको चौरमा उभिएर हल्लिनुपर्ने अवस्था थियो । त्यसै ठाउँमा मुद्यावालाहरु पनि उभिरहेका हुन्थे । यद्यपि २०१३ सालदेखि कानुनव्यवसायीहरुलाई सर्वोच्च अदालत नियमावली, २०१३ ले विधिवत् कानुनव्यवसाय गर्न प्रमाण–पत्र दिई दर्ता गर्ने व्यवस्था आइसकेको थियो । तर पनि कानुनव्यवसायीहरुका लागि अदालतको तर्फबाट बस्नेसम्मको पनि कुनै सुविधा प्राप्त थिएन । २०१९ सालमा रामशाहपथमा सर्वोच्च अदालत भवन सर्दा सो भवनको भुइँतल्लामा एउटा कोठा बार एशोसियशनलाई उपलब्ध गराइएको थियो । सोही एउटै कोठामा कानुनव्यवसायीहरुले हालको बार भवनमा नसर्दासम्म बस्नेसम्म सुविधा पाएका थिए ।

सुरुमा काुननव्यवसायमा प्रवेश गर्दाका बखत अदालतमा जाने गर्दा ल ग्राजुएट कानुनव्यवसायीमा वरिष्ठ अधिवक्ता देवनाथप्रसाद बर्मा र तत्काल अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई देख्थेँ, अरु सबैजसो non law graduate कानुनव्यवसायी नै हुनेगर्ने र उनीहरुको अदालतमा चल्तीफिर्ती र बोलवाला चल्नेगरेको देख्थेँ । कृष्णप्रसाद भण्डारी नवप्रवेशी कानुनव्यवसायीलाई प्रोत्साहन र सहयोग गर्ने गर्नुहुन्थ्यो । ल ग्राजुएट कानुनव्यवसायीमा त्यस बखत नीरकुमार क्षेत्री, टोपबहादुर सिँह, सर्वज्ञरत्न तुलाधर, कुसुम श्रेष्ठ, गोविन्दप्रसाद प्रधान र मधुप्रसाद शर्मा नै उदाउँदा युवक कानुनव्यवसायी देख्थेँ ।

म न्याय सेवाको तीन वर्षको अनुभव हासिल गरी कानुनव्यवसायमा प्रवेश गरेको हुँदा अदालतको कामकारबाहीको जानकारी भइसकेको भए तापनि कानुनव्यवसायीले कसरी कामकुरा गर्नुपर्छ भनी हेर्न–बुझ्न वरिष्ठ अधिवक्ता देवनाथप्रसाद बर्माकहाँ सुरुसुरुमा केही समय जाने÷आउने गर्दथेँ र उहाँमार्फत् नै केही मुद्यामा बहस गर्नेसमेत अवसर पाएको थिएँ ।

त्यस्तैमा फर्म खोली कानुनव्यवसाय सञ्चालन गर्ने पहिलो व्यक्ति कृष्णप्रसाद भण्डारीले नेपाल ल फर्म आफ्नै रामशाहपथको घरमा खोल्नुभयो । त्यसपछि कृष्णप्रसाद घिमिरेले घिमिरे एण्ड कम्पनी फर्म स्थापना गर्नुभयो । अरुले पनि फर्म खोल्ने क्रम सुरु भएपछि २०२० सालतिर रामगोपाल श्रेष्ठ, सुधानाथ पन्त र कालिकाप्रसाद झसँग मिली काठमाण्डौँ प्याफलमा Legal Services firm खोलेका थियौँ । तर केही कारणवश सो फर्म ८/१० महिनाभन्दा बढी चल्न सकेन । त्यसपछि जनार्दन शर्मा, गणेशराज शर्मा र म मिली २०२२ सालतिर बागबजारमा Lawyers’ chamber खोलेका थियौँ । त्यसरी व्यवसाय गर्दै आइरहँदा जनार्दन शर्मा २०२६ सालतिर जस्तो लाग्छ Law Commission को सदस्य भइ जानुभयो । २०२८ सालतिर गणेशराज शर्मा बिरामी भई अफिस आउन नसक्ने हुनुभएपछि सो Lawyers’ chamber बन्द गरी आफ्नै घरबाट व्यवसाय सञ्चालन गर्दै आइ रहेको थिएँ ।

म २०२९/३० सालमा नेबाए केन्द्रीय कार्यसमितिको उपाध्यक्ष र २०३८ सालमा सअबाए कार्यसमितिको अध्यक्षसमेत निर्वाचित भएँ । २०२९/३० सालतिर बार एशोसिएशन एउटै भएको अवस्थामा प्रत्येक अदालतमा एकाइ गठन गर्न म, स्व. वासुदेव ढुँगाना र स्व. लक्ष्मण अर्याल रहेको विधान मसौदा समिति गठन भएको थियो । हामीले प्रत्येक अदालतमा छुट्टाछुट्टै एकाइ गठन गर्नेगरी संघात्मक रुपमा विधान मसौदा गरी पेस गरेका थियौँ । बारको साधारण सभाबाट होहल्लाको बीचमा सो मसौदा पारित भयो । सोही बमोजिम नेपाल बारको विधान संशोधन भई हालसम्म पनि त्यही सङ्गठनात्मक ढाँचाअनुरुप बार चलिरहेको छ ।

नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएपछि २०४७ साल माघ १९ गते नेपाल अधिराज्यको महान्यायाधिवक्ताको पदमा मेरो नाम सिफारिस भएको कुरा एक्कासी बीबीसीबाट प्रसारण भएको सुन्दा एकदम अचम्मित भएँ । जीवनभरि जागिर नखाने मेरो प्रण भएकाले कुनैपनि हालतमा महान्यायाधिवक्ताको पदमा नजाने भनी अस्विकार गर्दागर्दै पनि वरिष्ठ अधिवक्ता दमननाथ ढुँगानाले फुत्किन–पन्छिन नै नदिएको र आफ्नो प्रण र असमर्थता अवगत गराउँदा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मोतिकाजीजी ! म पनि आफ्नो रहरले प्रधानमन्त्री भएको हाइनँ, तपाईँ पनि देशका लागि महान्यायाधिवक्ता हुनपर्छ’ भन्नुभएकाले २०४७ साल माघ २३ गते महान्यायाधिवक्ता पदमा मेरो नियुक्ति भयो ।

महान्यायाधिवक्ताको हैसियतले तत्कालीन मल्लिक आयोगको प्रतिवेदन उपर सरकारलाई मैले राय उपलब्ध गराएको हुँ । मेरो कार्यकालको सबभन्दा ठूलो चुनौती नै मल्लिक आयोगको प्रतिवेदनसम्बन्धी राय थियो । नेपाल अधिराज्यको संविधान, २०७४ जारी भएपछि संविधानको धारा ८८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक सरोकारका विवादहरु सर्वोच्च अदालतमा आउने ढोका खुल्ला भएको थियो । सार्वजनिक सरोकारको विवादको रुपमा आएका विषयहरुमध्येमा राजदूत नियुक्तिसम्बन्धी अधिवक्ता राधेश्याम अधिकारी निवेदक भएको मुद्या, टनकपुर बाँधसम्बन्धी अधिवक्ता बालकृष्ण न्यौपाने निवेदक भएको मुद्या, दासढुङ्गा मोटर दुर्घटना सम्बन्धमा छानविन गर्न आयोग गठन गर्न मिल्छ/मिल्दैन ? भनी सरकारबाट सर्वोच्च अदालतमा राय माग भइ आउँदाको विषयमा र प्रतिनिधिसभा विघटनसम्बन्धी २०५१ सालको हरिप्रसाद नेपालसमेत निवेदक भएको मुद्या लगाएत त्यसबखतका पायः सबै सार्वजनिक सरोकारका चर्चित संवैधानिक प्रश्न समावेश रहेका मुद्याहरुमा महान्यायाधिवक्ताको हैसियतले मैले सरकारको प्रतिनिधित्व गरेको थिएँ । माथि उल्लेख गरिएका मुद्याहरुबाहेक अरु त्यस्तै संवैधानिक प्रश्न समावेश भएका केही मुद्याहरुमा पनि बहसमा सहभागी भएको थिएँ । २०५२ सालको निवेदक अधिवक्ता रविराज भण्डारीसमेत विरुद्ध सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीसमेत भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्यामा सर्वोच्च अदालत बार एशोसिएशनका तर्फबाट एमिकस क्युरीको हैसियतले बहस गरेको थिएँ ।

२०४७ साल माघ महिनादेखि २०५१ साल मङ्सिर १४ गतेसम्म पहिलो पटक र २०५२ साल कात्तिक २० गतेदेखि २०५३ साल फागुन २८ गतेसम्म दोस्रो पटक म नेपाल अधिराज्यको महान्यायाधिवक्ता पदमा बहाल रहेँ । यसैगरी २०६४ साल जेठ २ गतेदेखि २०६८ साल जेठ १ गतेसम्म न्यायपरिषदको सदस्य पदमा म कार्यरत रहेँ ।

नेपालको अन्तरिम संविधान, २०६३ प्रारम्भ भएपछि संविधानबमोजिम राष्ट्रप्रमुखको समेत कार्यभार सम्हाल्नुभएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मलाई न्याय परिषद्को कानुनविद् सदस्य पदमा सिफारिस तथा मनोनित गर्नुभएको थियो । संविधानसभाको पहिलो निवार्चनपछि पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन भएपछि २०६५ साल कात्तिकतिरजस्तो लाग्छ –मलाई न्याय परिषद् सदस्यमा सिफारिस र मनोनित गर्ने प्रधानमन्त्री नरहेको र अन्तरिम संविधान संशोधन भएबमोजिम म मनोनित भएको न्याय परिषद्को कानुनविद्को पदमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुने व्यवस्था आएकोले सो व्यवस्था अनुरुप मेरो सिफारिस र मनोनित नभएको हुँदा मैले पद छोड्नुप¥यो भनी सरकारतर्फबाट मलाई बारम्बार दबाब दिइए तापनि मैले ‘न्याय परिषद्को कानुनविद्को पदावधि चार वर्ष तोकिएको र प्रधानमन्त्री फेरिँदैमा सो पदावधि रहुन्जेलसम्म कसैले हटाउन नमिल्ने’ भनी संवैधानिक व्यवस्थामा टेकी अडान लिइ रहेको अवस्थामा प्रधानमन्त्रीसँगको भेटवार्तापछि त्यो विवाद त्यत्तिमै टुङ्गियो ।

(सर्वोच्च अदालत बार एशोसिएशनद्वारा प्रकाशित सर्वोच्च बार जर्नल अँक ८ को अनुभव र अुनभूति विशेषाङ्कबाट साभार )