LEGAL NEWS WEBSITE FROM NEPAL

नेपाल ल क्याम्पसको ५ दिने बृहत् पुस्तकालय व्यवस्थापन कार्यक्रम सोमबारबाट

२०७५ मंसिर ९ गते १६:५९ Lexnepal

नेपालको कानुनी शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय कानुन कलेज ‘नेपाल ल क्याम्पस’को पुस्तकालयलाई बृहत् रुपमा व्यवस्थापन गरिने भएको छ । अन्य विषयमा स्नातक गरेपछिको पढ्न पाइने तीन वर्षे एल.एल.बि. र अन्य जुनसुकै विषयमा +२ पास गरेकाले प्रवेश परीक्षा दिएर पढ्न पाइने पाँच वर्षे बि.ए.एल.एल.बि. तह गरी दुई स्नातक तहका कोर्स पढाइने गरिएको छ । साथै तीन वर्षे र दुई वर्षे गरी दुईटा एल.एल.एम. कोर्स उक्त क्याम्पसमा अध्यापन हुँदै आएको छ ।


वर्षेनी ६००० विद्यार्थीको भर्ना हुँदै आएको नेपाल ल क्याम्पसमा यो वर्ष मात्र ३ वर्षे एल.एल.बि.मा १२००० विद्यार्थी भर्ना भएका छन् । त्यसैले हाल एल.एल.बि.मै अध्ययनरत करिब २४ हजार विद्यार्थी छन् भने १०५ जनाको मात्र कोटा भएको बि.ए.एल.एल.बि.मा करिब ४०० विद्यार्थी र एल.एल.एम.मा करिब ३००को संख्यामा छन् । यतिका सँख्यामा रहेका विद्यार्थीलाई कलेजमा अध्ययापन गर्न कक्षा समेत अभाव हुन थालेको छ भने पुस्तकालयको उचित व्यवस्थापन अभावका कारण विद्यार्थीले पुस्तकालयबाट आवश्यक पुस्तक पाउन समेत कठिनाइ थियो ।

विद्यार्थीलाई आवश्यक पुस्तक समयमै सजिलै उपलब्ध गराउने हेतुले र पुस्तकालयलाई आधुनिक रुपमा व्यस्थित गराउन पुस्तकालयको व्यवस्था गरिन थालिएको क्याम्पसका पुस्तकालय प्रमुख विजय कुमार पोखरेलले बताउनु भयो । विद्यार्थीको सहायतामा ५ दिनसम्म निरन्तर रुपमा पुस्तकालयको व्यवस्थापन गरिने भएको छ ।