LEGAL NEWS WEBSITE FROM NEPAL

विश्वचर्चित बंगाली फोटोपत्रकार शाहिदुलको पक्षमा अदालती फैसला

२०७५ कार्तिक २९ गते ११:३४ Lexnepal

अन्तरराष्ट्रिय स्तरमै चर्चित बंगलादेशका फोटो पत्रकार शाहिदुल अलामले सफाइ पाएका छन् । उनले तीन महिना जेलमा बसेर सफाइ पाएका हुन् । शाहिदुल अलामलाई जेलमुक्तबाट रोक्न कुनै कानुनी आधार नभएको कुरा उच्च अदालतको फैसलामा उल्लेख भएको अधिवक्ता जोतिमर्य बारुवाले बताए । उनको उमेर र थुनिनु पर्ने कुनै कारण नभएकाले रिहाइ गरेको उच्च अदालतले बतायो ।

विद्यार्थीहरुको आन्दोलनको पक्षमा मिडिया अन्तरवार्ता दिएको भन्दै पक्राउ परेका आलमलाई बिहीबार ढाकास्थित अदालतले फैसला गरेको हो । ६३ वर्षे आलम अन्तर्राष्ट्रिय अवार्डप्राप्त फोटोपत्रकार हुन् । गत अगष्टमा ‘गलत सूचना प्रचार गर्दै अफवाह फैलाएको’ भन्दै अलजजीरालाई अन्तरवार्ता दिइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सन् २००९ देखि शक्तिमा आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई गैर न्यायीक हत्याको आरोप पनि लाग्दै आएको छ । गत वर्ष मात्रै बंगलादेशमा कम्तिमा २५ पत्रकार र सयौं ब्लगर तथा फेसबुक प्रयोगकर्तामाथि यहाँको प्रचलित ‘आईसिटी एक्ट’अन्तरगत मुद्दा लगाइएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाएका आलमलाई पक्राउ गरेपछि भने मानवअधिकारकर्मी तथा पत्रकारहरुले यहाँको सरकारलाई चौतर्फी दबाव दिँदै आएका थिए ।