LEGAL NEWS WEBSITE FROM NEPAL

कानुनी व्यवसायको जग बसाउन स्थापित नेपालको पहिलो ल फर्म

२०७५ कार्तिक २७ गते १०:५५ कृष्ण प्रसाद भण्डारी

हरि प्रसाद प्रधान नेपालको न्यायिक जगतका एक सम्माननीय र आदरणीय व्यक्तित्व हुन् । उनले नेपालमा वकालती प्रणाली सुरु गरेका थिए । त्यस समयमा वकालत सम्बन्धी कुनै कानुन थिएन । अदालतको १६ नम्बर अनुसार मान्छेहरु बहस वकालत गदर्थे । तर हरि प्रसाद प्रधानले आफ्नो पालादेखि नै वकालतीलाई एउटा प्रतिष्ठित पेशा र व्यसायका रुपमा अघि बढाएका थिए । यहि प्रतिष्ठित पेशा अन्तर्गत देवनाथ प्रसाद बर्मा जस्तो विद्वान व्यक्तिहरु समेत यस जगत्मा प्रवेश गरे । मेरो प्रवेश वकालती जगत्मा अँझै भइ सकेको थिएन ।

२०१३ सालमा अनिरुद्र प्रसाद सिँह प्रधान न्यायाधीश बनेपछि वकालती पेशालाई नियम बनाएर व्यवस्थित गरे । वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता र अभिकर्ता गरी चार दर्जामा यो पेशालाई व्यवस्थित गरियो । २०१३ सालमा नेपालमा ल कलेज खुलेको थिए । त्यस समयमा मैले कानुन पढ्न भनी ल कलेजमा भर्ना भएर कानुनको अध्ययन सुरु गरेको थिएँ । २०१४ बैशाख ३० गतेदेखि मैले कानुन व्यवसाय आरम्भ गरेँ । वकिल पेशा आरम्भ गरेपछि मैले नाम लिनु पर्ने एउटा व्यक्ति हुन् प्रेम बहादुर कुँवर । उनको र मेरो सल्लाह के भएको थियो भने हामीले केवल आफै वकालत गर्ने मात्र नभइ यस क्षेत्रको जनशक्ति पनि निर्माण गर्ने, उनीहरुलाई पनि कानुनी ज्ञान दिने र त्यसबाट सक्दो समाज सेवा गर्ने । मेरो सिद्धान्त के थियो भने मसँग कुनै बुद्धि र ज्ञान छ भने त्यो बुद्धिलाई कञ्जुसाइ गरेर आफैमात्र सीमित नराखी अरुलाई पनि दिने पक्षमा थिएँ ।

सुरुमा बागबजारमा वकालत पेशा गर्नका लागि मेरो आफ्नो एकलौटे अफिस थियो । आफ्नो एकलौटे अफिस भएपनि त्यहाँ म हुँदा कुसुम श्रेष्ठहरु भर्खर आएर सिक्न थालेका थिए । पहिले म एक्लै मात्र काम गरिरहेकोमा अब अन्य साथीभाइहरु प्नि आउन थालेपछि त्यहाँ अब दुइटा भेद भयो । एउटा म अफिसलाई नेतृत्वको रुप दिइ रहेको थिएँ भने अर्को समुह त्यहाँ महकाँ सिक्न आउनेहरु कारिन्दाको रुपमा मलाई सघाउने र अदालती काम गर्न थाले ।

एउटा उदाहरण दिन्छु । लवदेव भट्ट डोटीको सुब्बा थिए । उनको शैक्षिक योग्यता चारपासे थियो । उनलाई मैले तपाईँ मेरोमा आउनुहोस् भनेको थिएँ । सुरुमै वादी प्रतिवादी भएर त लेख्न नआउला । तर म्याद थप्ने निवेदन सिकाइ दिन्छु भनेको थिएँ । जसबाट पाँच रुपैयाँ पाइन्थ्यो र त्यस समयमा त्यो रुपैयाँले दैनिक खान पुग्थ्यो । त्यसपछि उनी मकहाँ आए र आफ्नो कानुनी पेशा आरम्भ गरे । सुरुमा मेरोमा आउने लवदेव भट्ट नै हुन् । मकहाँ काम गर्दागर्दै उनी मेहनत र लगनशीलताले निकै उच्चकोटीको न्यायाधीश र कानुनविद् भए ।

कसुम जी आउनुभयो । भर्खर मात्र कानुन पढेका थिए उनी । त्यसपछि वासुदेव ढुँगानाहरु पनि आए । उनीहरु आउँथे, काम सिक्थे र त्यसको पारिश्रमिक पनि पाउँथे ।

कृष्ण प्रसाद पन्त पनि एक ठूला विद्वान थिए । तर घटनाक्रमले उनलाई डिप्रेसनको रोग लाग्यो । त्यसपछि उनी बनारसमा गएर बस्न थाले । अँगुरबाबा जोशीले आफ्नो भाइ बिग्रियो भनी मकहाँ चिन्ता व्यक्त गर्नु भएको थियो । मैले कृष्णप्रसाद पन्तलाई मेरो अफिसमा पठाइदिनुहोला भनेको थिएँ । मेरो अफिसमा आएपछि उनको डिप्रेसन एकाएक सकिएको थियो र सामान्य जस्तै उनी कानुन व्यवसाय गर्न थालेका थिए ।

अर्का थिए लोकेन्द्र बहादुर चन्द जो इन्सपेक्टर बन्न भनी काठमाण्डौँ आएका थिए । मैले त्यो थाहा पाएपछि उनलाई आफूकहाँ बोलाएर अदालती कामकुरा सिकाएँ जसबाट उनले पारिश्रमिक पनि पाउने गर्थे । यसबाट उनले के बुझे भने कानुनी पेशा भनेको त पाकेको आँप जस्तो रहेछ जसलाई रितपूर्वक खान जान्यो भने टपक्कै हातमा पाईँदो रहेछ । त्यसपछि त उनमा वकालत पेशाको मोह जाग्यो र केही समय सिकेर बैतडीमा पनि कानुन व्यवसाय गरे । पछि उनी राजनीतिमा संलग्न भए र पञ्चायती चुनावमा जित्दै प्रधानमन्त्री समेत बने ।

त्यसैले बोलाएर सम्झाएर मैले थुप्रै व्यक्तिहरुलाई वकालत पेशा सिकाएको हुँ । त्यही सिकाइपछि थुप्रैले यो व्यवसाय अँगाले । तर यो क्रम अगाडि बढ्दै जाँदा मैले कामदारबीच दुई भेद पाएँ । एउटा मालिक र अर्को कारिन्दाको । जुन मलाई बिल्कुलै स्विकार्य थिएन । त्यसैले मैले सोचेँ की यो अफिसलाई अब पार्टनरसीपमा लैजानुपर्छ । काम गर्ने हरेक मान्छे पनि मालिक जस्तै हुन् भन्ने भावनाले हामीले सबैलाई अपनत्व हुनेगरी मेरो आफ्नो मात्रको अफिसलाई सबैको अनरसिप हुने गरी ल फर्मको रुप दिएका हौँ । यसरी नैपालको पहिलो ल फर्म ‘नेपाल ल फर्म’ खुलेको थियो ।

त्यसैले दुईटा उद्देश्य राखेर हामीले ‘नेपाल ल फर्म’ खोलेका हौँ । एउटा त काम गर्नेहरुबीच मालिक र कारिन्दाको विभेद नहोस्, सबै समान होउन् र अर्को चाहिँ कानुनी पेशालाई मर्यादित र विकसित बनाउने उद्देश्यले यो प्रतिष्ठानको रुपमा रहोस् भनी यसको स्थापना गरेका थियौँ । कमर्सियल रुप भन्दापनि बढीभन्दा बढी गरीब, निमूखा र असहायको सामुहिक सयोगका लागि नेपाल ल फर्मको स्थापना भएको थियो । साथै यो पेशामा आउने नयाँ मान्छेहरुलाई समेत सिकाउने यस ल फर्मको मूल उद्देश्य रहेको थियो ।

कृष्ण प्रसाद भण्डारी
(वरिष्ठ अधिवक्ता)