LEGAL NEWS WEBSITE FROM NEPAL

कानुनी ज्ञान सम्बन्धी अन्तरक्रियात्मक शृंखलाकाे सुरुवात

२०७५ कार्तिक १५ गते ४:२७ यज्ञराज पाण्डे

भिमदत्तनगर – कानुनी पत्रकारितामा समर्पित अनलाइन न्युज पाेटर्ल लेक्स् नेपालले कञ्चनपुर जिल्लाकाे भीमदत्त नगरबाट कानुनी ज्ञान सम्बन्धी अन्तरक्रियात्मक शृंखलाकाे सुरुवात गरेको छ ।

देशमा सङ्घीयता लागू भइसक्दा पनि जनतालाई यसबारे सामान्य ज्ञान पनि नहुनु र कानुन एवं प्रशासन सम्बन्धी कुराहरू  पाठ्यक्रममा समावेश नगरिनुले आम नागरिकहरू मूलधार राज्यसत्ताबाट टाढा रहनु त छँदै छ, देशमा भ्रष्टाचार र अनियमितता बढ्दै अाएकाे छ । तसर्थ, प्रत्येक नागरिकलाई अब नैतिक शिक्षा, कानुनी ज्ञान र सचेतनाको जरुरत छ भन्ने ठानी लेक्स् नेपालले यस शृंखलाकाे सुरुवात गरेको हो ।

“प्रजातान्त्रिक समाज र कानुनी शासनका लागि कानुनी ज्ञान” नाम दिइएको यस कार्यक्रममा इन्टरनेशनल पब्लिक स्कुलका सामाजिक अध्ययन विषयका शिक्षक राजेश कलौनी, भिमदत्तनगर नगरपालिकाका उपमेयर सुशीला चन्द सिंह, वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट र कञ्चनपुर जिल्ला अदालतका माननीय न्यायाधीश डा. राजेन्द्र कुमार क्षेत्रीले क्रमशः वक्तव्य राखेसँगै प्रत्येक वक्तालाई क्रमिक रूपमा सम्बन्धित प्रश्नहरू राख्दै छलफल अगाडी बढाइयो ।

अन्तरक्रियाको क्रममा शिक्षक कलौनीले न्यायालय, प्रजातन्त्र, सुशासन र राज्य व्यवस्था जस्ता महत्त्वपूर्ण कुराहरू सामाजिक अध्ययन विषयको सानो अध्यायमा मात्रै सीमित पारिएको बताए । उनले अपर्याप्त समयका कारण राज्य व्यवस्था, नागरिक हक र दायित्वका कतिपय कुराहरू त पढाउनै नसकिएको दुखेसो गरे ।

विद्यालयहरू बढिभन्दा बढी अङ्कमा पास गराउनुपर्छ भन्ने होडबाजीमा रहेको र विद्यार्थी पनि परीक्षामुखी मात्र भएर पढ्ने संस्कार रहेकाले पाठ्यक्रमले जे निर्देशित गरेको छ त्यही मात्र पढाउन शिक्षक बाध्य हुनुपरेको उनको भनाइ थियो । यस सिकार्इ संस्कारमा परिवर्तन ल्याउन पाठ्यक्रममै केही परिमार्जन ल्याइ नैतिक अध्ययनलाई जोड दिनुपर्ने र विद्यार्थीलाई प्रयोगात्मक तथा सामाजिक जीवनसँग महत्त्व राख्ने विषय पढाउन सके सक्षम नागरिक उत्पादनमा टेवा पुग्ने शिक्षक कलाैनीको सुझाव थियो ।

त्यसै गरी, भीमदत्त नगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले स्थानीय तहमा न्यायिक समिति र नागरिकमा जनचेतनाको अवस्थाका बारेमा आफ्ना विचार राखिन् । उनले केही सामान्य मुद्दाहरू न्यायिक समितिबाट समाधान गरिने कानुन बनेको भएता पनि आफूहरूलाई केवल दुई पक्ष मेलमिलाप गराउने मात्र अधिकार दिएको र यस्ता कार्यहरूमा प्रशस्त समय बिताउनु पर्दा नीति नियम प्रतिपादन र नगर विकासका काममा समय दिन नसकेको गुनासो गरिन् । उनले सङ्घीय व्यवस्थाका बारेमा राज्यशक्ती र आफूहरूबिच जति सम्वाद र साक्षत्कार भएर समस्याहरूको समाधान गरिनुपर्ने हो त्यो हुनु नसकेकाले स्थानीय तहहरू असफलतातिर धकेलिरहेको बताइन् ।

जनप्रतिनिधि, नागरिक र विज्ञहरूबिच निरन्तर अन्तरक्रिया र छलफलका माध्यमबाट मात्र सङ्घीयतालाई सफल रूप दिन सकिने उपमेयर सिंहको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टले प्रविधिमा आधुनिकता आएता पनि हाम्रा व्यवहारहरू समाज पतनतिर उन्मुख रहेको बताए । उनले न्यायालयमा बिचौलियाहरुको वृद्धि भएको र खुल्लम खुल्ला भ्रष्टाचार बढेकाले आम मानिसका लागि न्याय महँगो भएको जिकिर गरे । असल आचरणको कमीका कारण घुस्याहा न्यायाधीश र वकिलले न्यायालय र समाज धुमल्लिएकोमा यसप्रति सबै सचेत रहन उनको आग्रह थियो । वरिष्ठ अधिवक्ता भट्टले नेपालमा तमाम् ऐन कानुनहरूको निर्माण भएको तर नेपालको संस्कृति र सभ्यतालाई भन्दा विदेशी कानुनहरूको अन्धानुकरण गरिदा हाम्रा मूल्य र मान्यताहरूको बेवास्ता भएको बताए । उनले नेपालको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिको अध्ययन गरेर मात्र कानुन निर्माताहरूले कानुनको प्रतिपादन गर्नुपर्ने बताउँदै नयाँ पीढीलाई पनि आफ्नो कामप्रति सदा जिम्मेवार रहन आग्रह गरे ।

त्यसै गरी, माननीय न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यले वर्तमान परिस्थितिमा देशको न्यायालय र नैतिक शिक्षाका बारेमा बोल्दै, सभ्य आचरण भएका व्यक्तिहरूको कमीका कारण न्यायालयमा पनि विकृति बढेको स्वीकार गरे । उनले यसका लागि नयाँ पिँढी नैतिक ज्ञानले परिपक्व र अधिकारको प्रयोगका साथसाथै कर्तव्यमुखी हुनुपर्नेमा समेत जोड दिए ।

न्यायाधीश डा. आचार्यले भारतको इलाहबाद विश्वविद्यालयको उदाहरण दिँदै विद्यार्थी र शिक्षकबिचको सुमधुर सम्बन्धले मात्र विद्यार्थीहरूमा सुझ बुझ र विद्वता बढाउने बताए । उनले हाम्रा कानुनहरूको बनोट एकातिर र हाम्रो व्यवहार अर्कातिर भएकाले यसको दुरी घटाउन समेत विद्यालय स्तरबाटै सचेतना र नैतिकता सिकाउँदै जानुपर्नेमा जोड दिए ।

अन्तरक्रियात्मक शृङ्खला सञ्चालक तथा लेक्स नेपालका सम्पादक यज्ञराज पाण्डेले प्रत्येक व्यक्ति नागरिकको हैसियतले राज्यसत्तामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहनुपर्ने र सबै नागरिकले देशको परिस्थिति र मुद्दामा सहभागी हुनुपर्ने बताए । उनले नेपाल सांस्कृतिक, भौगोलिक र सामाजिक रूपले अखण्ड रहेकाले नेपाल कहिल्यै कुनै शक्तिसँग परास्त नहुनु परेको र यही सांस्कृतिक एकता जोगाइ राख्न नागरिकहरूमा देशप्रतिको कर्तव्यबोधका साथै अधिकारको स्वतन्त्र उपभोग हुनु आवश्यक रहेकाले जो कोहीले पनि यसप्रति सचेत रहनु आवश्यकता रहेको बताए ।

उनले कानुनी जनचेतना अभिवृद्धिको आवश्यकता बुझी अल्पविराम मिडिया नेटवर्कद्वारा सञ्चालित लेक्स् नेपालले थालनी गरेको यस अन्तरक्रियात्मक शृंखलालार्इ प्रत्येक स्थानीय तहसँग सहकार्य गरेर देशव्यापी गर्दै लैजान आफूहरू लागी परेको बताए ।

वक्ताहरूले अापफ्नो भनार्इसँगै सहभागीहरूको जिज्ञासाको जवाफ दिएका थिए  भने कार्यक्रमको अन्त्यमा कानुनी सेवामा अविछिन्न रूपमा योगदान गर्ने व्यक्तित्व थानेश्वर प्रसाद भट्टलाई अभिनन्दन गरिएको थियो । साथै, माननीय न्यायाधीशलाई सम्मानपत्र प्रदान गरिनुका साथै अन्य वक्तालाई मायाको चिनो प्रदान गरियो ।

कार्यक्रममा इन्टरनेशनल पब्लिक स्कुलका प्रबन्ध निर्देशक महा शर्मा न्यौपाने र प्रधानाध्यापक राजेन्द्र भट्ट सहित कक्षा १० का करिब चालिस जना विद्यार्थीको सहभागिता थियो ।